
काठमाण्डु, १९ जेठ– नेपाल पर्यटन बोर्डमा अनियमितता र भ्रष्टाचार भएको भन्दै एक महिनादेखि आन्दोलित पर्यटन व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
पर्यटनमन्त्री भीम आचार्यसँग भएको वार्तामा सकारात्मक भएको भन्दै व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् । उनीहरुले पर्यटन बोर्डमा व्यापक आर्थिक हिनामिना भएको भन्दै बोर्डमा निमित्ति कार्यकारी निर्देशक सुवास निरौलालाई बर्खास्त गर्न माग गरेर ३४ दिनदेखि भृकुटी मण्डपस्थित बोर्डको परिसरमा धनाए दिंदै आएका थिए ।
मन्त्री आचार्यले व्यवसायीलाई विरोध कार्यक्रम तत्काल स्थगित गरी छनविनमा सघाउन आग्रह गरेका थिए । व्यवसायीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित मात्रै भएको र मन्त्रीले गरेका प्रतिबद्धता
पूरा नभए फेरि आन्दोलनमा उत्रिन बताएका छन् । ‘हामीले आन्दोलन स्थगन मात्रै गरेका हौँ, बन्द गरेका होइनौँ । मन्त्रीले भनेको कुरा पूरा नभए फेरि आन्दोलनमा उत्रन्छौं’, ‘टान अध्यक्ष एवम् संयुक्त पर्यटन समन्वय समितिका संयोजक रमेश धमलाले भने, ‘मन्त्रीले २४ घण्टाभित्र माग सम्बोधन नगरे आन्दोलन फेरि सुरु हुन्छ ।’
मन्त्री आचार्यले आइतबार विज्ञप्ति निकालेर छानबिन समितिमा विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत संलग्न गराएर बोर्ड र अन्य स्थानमा भएका आर्थिक र अन्य गतिविधि छानविन गर्ने आश्वासन दिएका थिए ।
मन्त्रीले आन्दोलन बन्द नगरे पनि स्थगन गरेर वार्तामा आउनुस् भनेकाले आफूहरु लचक भएको धमलाले बताए ।
व्यवसायीले पर्यटन बोर्डको पुनसंर्रचना गर्न गठन हुने समितिमा टान अध्यक्ष धमला र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजाललाई पठाउने निर्णय गरेको छ ।
बोर्डको आर्थिक र अन्य गतिविधिको छानबिन गर्न गठित सह–सचिव पूर्णचन्द्र भट्टराई संयोजक रहेको तीन सदस्यीय समितिमा थप गर्नका लागि राष्ट्रिय पर्यटन व्यवसायी संघका संयोजक दीपक महत र राष्ट्रिय पर्यटन व्यवसायी मञ्चका संयोजक गणेश सिंखडालाई पठाइने भएको छ ।