उम्मेदवार छान्न काँग्रेसमा महाभारत

काठमाण्डु टुडे २०७० असोज २ गते १६:२५ मा प्रकाशित

NC-Flagकाठमाण्डु, २ असोज–निर्बाचनमा उम्मेदवार छनौट गर्ने संसदीय बोर्ड गठन गर्ने विषयमा नेपाली काँग्रेसमा विवाद चुलिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारी मनोनयन दर्ताको समयसीमा नजिकिए पनि काँग्रेसले बोर्ड गठन गर्न सकेको छैन ।

बरिष्ठ नेता शेर बहादुर देउवा पक्षले १४ सदस्यीय बोर्डमा ७ सदस्य आफू निकटका नेताहरु हुनुपर्ने अडान राखेको छ । तर, संस्थापन पक्षले भने ६ सदस्य मात्र दिने बताएपछि विवाद चुलिएको हो ।

यसैबीच नेता देउवाले आज आफ्नो निबास बुढानिलकण्ठमा आफू निकटका केन्द्रीय सदस्यहरुसँग छुट्टै छलफल गरेका छन् । बोर्ड गठनमा सम्मानजनक सहभागीताकालागि संस्थापन पक्षलाई दवाव दिने तयारी स्वरुप देउवा पक्षका नेताहरु छुट्टै छलफलमा जुटेका हुन् ।

देउवा पक्षीय नेता प्रकाश शरण महतले बोर्ड गठनमा छलफल भएको जानकारी जनकारी दिए। उनले बोर्डमा सदस्य संख्या निश्चित भएपछि मात्रै आफ्नो तर्फबाट नेताहरुको नामावली सार्बजनिक गर्ने बताए ।

काँग्रेस संसदीय बोर्ड १५ सदस्यीय रहने व्यवस्था भए पनि हाल संसदीय दलको नेता नरहेकाले १४ सदस्यीय मात्र बनाउने तयारी भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us