संसद्‌मा विरोध गर्ने पटक्कै रहर छैन, सर्वसत्तावादले बाध्य बनायोः ऐन महर

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १६:५३ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको बताएका छन ।

आज (बिहीबार) एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको समेत बताएका छन । महरले भने, ‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन ।

हामी रहरले रमाइलो मानेर त्यो गरिरहेका छैनौं, ‘हामीलाई के थाहा छ भने, जनताका आवाज बुलन्द हुने, जनताका समस्या समाधान गर्ने, जनताका समस्या नै राख्ने ठाउँ हो संसद् । सार्वभौम थलो हो । त्यसकारण बन्धक बनाइनु हुँदैन, त्यसलाई अवरोध गरिनु हुँदैन ।’

संसद्लाई जति चलायो, त्यति जनताका समस्या त्यहाँ आउने र ऐन, कानुन बन्ने कुरामा आफू जानकार रहेको समेत उनले बताएका छन । उनले भने, ‘संसद् सरकारलाई उत्तरदायी बनाउने थलो पनि हो, त्यसकारण त्यसलाई अवरोध गरेर, विरोध गर्नु राम्रो होइन, त्यसले देशलाई राम्रो गर्दैन भन्ने कुरामा हामी संवेदनशील पनि छौं, सचेत पनि छौं ।’ तर, अहिले संसद् अवरोध गर्नु आफ्नो बाध्यता रहेको उनले बताए ।

उनले अगाडि भने, ‘यो परिस्थितिवस आइलागेको अवस्था हो, यसप्रति हामी दुखी छौं । हामी जिम्मेवार बन्न चाहन्छौं ।’ आफूहरू अराजक बनेर, अमर्यादित बनेर, संसद्को मर्यादा र गरिमामा आँच आउने काम गर्न नचाहने समेत उनले बताएका छन ।

उनले भने, ‘तर, पछिल्लो समय सरकार र सभामुख जसरी प्रस्तुत भइराख्नुभएको छ, त्यो विचार गर्नुपर्ने कुरा छ, बडो ध्यान दिनुपर्ने कुरा छ, ‘सरकारलाई सर्वसत्तावाद हाबी भएको छ ।’

सत्ता पक्षलाई ‘हामीले संसार जितेका छौं, संविधान पनि केही होइन, संसद् पनि केही होइन, ऐनकानुन केही होइनन्’ भन्ने परेको उनले दाबी गरे । ‘हाम्रो १८२ को संख्या अल इन अल हो ।

हामी यसका माध्यमबाट जे पनि गर्नसक्छौं भन्दै, निरन्तरतामा क्रमभंगता भनेर उहाँले जानेर हो वा नजानेर एउटा भाष्य लाग्नुभएको छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us