के प्रदेश–१ का मुख्यमन्त्री कम्युनिष्ट हुन् ? जो हेलिकोप्टरमा ससुराली गए

काठमाण्डु टुडे २०७७ चैत ३ गते १९:२१ मा प्रकाशित

काठमाण्डु, ३ चैत–प्रदेश–१ का मुख्यमन्त्री एवं एमाले ओली समूहका केन्द्रीय सदस्य शेरधन राई हेलिकोप्टर चढेर ससुराली गएका छन् ।

राई पत्नी जाङ्मु शेर्पाका साथ ससुराली गाउँ संखुवासभाको मकालु गाउँपालिकास्थित सेदुवा र नोर्बुको भ्रमण गरेका हुन् । राई पत्नी जाङ्मुले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हेलिकोप्टर चढेर श्रीमानका साथ जन्मस्थल जान पाएकामा खुसी लागेको भन्दै हेलिकोप्टर अगाडि खिचेको तस्बीर सार्वजनिक गरेकी छन् ।

आफू उक्त गाउँमा जन्मिएको मात्र भन्दै उनले गाउँ अति शुन्दर रहेको बताएकी छन् । उनले आफ्नो जन्मस्थानमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चार पहुँच नपुगेको भन्दै ती पूर्वाधारसँग जोड्न आफू र आफ्ना श्रीमानको ध्यानाकर्षण भएको लेखेकी छन् । ५० वर्षका राईले केही महिनाअघि मात्र आफूभन्दा २० वर्ष कान्छी जाङ्मुसँग अनमेल विवाह गरेका थिए ।

कम्युनिष्ट नेता भएर पनि राजशी शैलीमा भड्किलो विवाह गरेको भन्दै आलोचना खेपेका राई हेलिकोप्टर चार्टर गरेर ससुराली गएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोभ भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us