प्रचण्ड, माधव नेपाल र झलनाथले माइतीघरमा पलेंटी कसेकाले लोकतन्त्र जोगियोः केसी

काठमाण्डु टुडे २०७७ फागुन २७ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, २७ फागुन– काँग्रेस नेता अर्जुननरसिंह केसीले पुष्पकमल दाहाल प्रचण्डसहित तीन पूर्वप्रधानन्त्रीले माइतीघर मण्डलामा पलेटी कसेका कारण संविधान ब्युँतिएको बताएका छन् ।

केसीले तीन पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले माइतीघर मण्डलामा धर्ना बसेको र आफ्नो पार्टी र नागरिक आन्दोलनले प्रतिवाद गरेका कारण अदालतले विघटित संसद पुर्नस्थापना गरेको उल्लेख गरे ।

‘प्रचण्डजीसहित तीन पूर्वप्रधानमन्त्रीले माइतीघर मण्डलामा पलेंटी कसेका कारण अदालतले संसद पुर्नस्थापना गरेको हो’, नुवाकोट जिल्ला विकास समितिका पूर्वसभापति एवं माओवादी जनयुद्धका शहीद भरत ढुंगानाबारे लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा बिहीबार राजधानीमा केसीले भने ।

केसीले पूर्वप्रधानमन्त्रीहरुको शान्तिपूर्ण सत्याग्रहले केपी ओलीको निरंकुशता पराजित भएको र लोकतन्त्र तथा संविधानको जित भएको बताए । ओलीको अलोकतान्त्रिक सत्ता ढाल्न संसद विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिबीच सहकार्य हुनुपर्नेमा केसीको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us