
काठमाण्डु, २४ फागुन– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेमै फर्किएर केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने बताएका छन् ।
नेकपा–प्रचण्ड नेपाल समूहको अन्तिम स्थायी समिति बैठकलाई कोटेश्वर पेरिसडाँडास्थित कार्यालयमा सम्बोधन गर्दै नेता नेपालले एमालेमै रहेर अन्तिमसम्म ओली प्रवृत्तिविरुद्ध लडिरहने बताए । परिस्थितिले आफूहरुलाई अलग गराए पनि आफूहरु एजेण्डामा टाढा नहुने उनको भनाइ थियो ।
‘हामी जहाँ रहे पनि ओलीको स्वेच्छाचारिताविरुद्ध लड्छौं’, नेपालले भने, ‘केपी ओलीलाई हामी हटाउँछौं, ओली प्रवृत्तिलाई परास्त गर्नैपर्छ ।’ नेता नेपालले आफूहरुका लागि आजको दिन अत्यन्तै कठिन दिन भएको पनि बताए । प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार अलग अलग पार्टीमा रहने निर्णय गरेको थियो ।