
काठमाण्डु, ७ फागुन–आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७१ औँ प्रजातन्त्र दिवस मनाइँदै छ ।
प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिन सरकारले टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने गरेको छ ।
२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । त्यस्तै, प्रजातन्त्र स्थापनाका लागि शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विक्रम सम्वत १९९७ माघमा दिएका बलिदान उल्लेखनीय छ । राणा शासनविरुद्ध संघर्षका लागि प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरेको आरोपमा उनीहरूलाई राणा शासकले मृत्युदण्ड दिएका थिए ।
प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बिहान टुँडिखेलमा गृह मन्त्रालयले विशेष समारोह आयोजना गरेको छ । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ ।
प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा पनि दिएको छ । प्रजातन्त्र दिवसका अवसरमा विदेशस्थित विभिन्न नियोगहरुमा समेत कार्यक्रम आयोजना गरिएका छन् ।