
काठमाण्डु, ४ फागुन– बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन् । उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन् ।
त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ काटेर आउनू भने । ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन् । उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो ।
भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे । सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ । उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे ।
त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो । ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी । हामीले कपाल काटेर आउँछौं भन्यौं । उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे ।
भानदेवलाई त्यसै दिनको पछुतो छ । ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने । यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो। लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरकफरक गाउँ जाने बाटो आउँछन् । तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो । अन्नपूर्ण पोस्टबाट