
काठमाण्डु, ३० माघ– जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन् ।
हवारीलाई ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शुक्रबार बालुवाटारमा माला लगाएर पार्टीमा प्रवेश गराए । हवारी पूर्वमाओवादी पृष्ठभूमिका हुन् । उनी तत्कालीन नेकपा माओवादीका तर्फबाट पहिलो संविधानसभामा सदस्य थिए ।
दोश्रो संविधानसभाले संविधान जारी गरेसँगै मधेसी जनताको अधिकार छिन्ने गरी संविधान जारी गरिएको भन्दै उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए ।
नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकीकरण भएपछि पनि उनी उक्त पार्टीको केन्द्रीय सदस्य थिए । पार्टी प्रवेश कार्यक्रममा हवारीले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम सही भएको बताए ।