
काठमाण्डु, २९ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न खोजेको छ ।
झाँक्रीलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखाको टोली झाँक्री निवास पुगेको छ । अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले यसअघि टेलिफोन गरेर आफ्नो कार्यालयमा आउन झाँक्रीलाई आग्रह गरेका थिए । तर, झाँक्रीले पक्राउ पुर्जी लिएर आउन चेतावनी दिएकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको नाम प्रधानमन्त्री केपी ओलीसँग जोडेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई पक्राउ गर्न ओली समर्थित महिला नेतृहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई दबाब दिँदै आएका थिए । राष्ट्रपति भण्डारीले समेत झाँक्रीलाई पक्रन दबाब दिँदै आएकी छन् ।
यसैबीच ठूलो संख्यामा प्रहरी झाँक्री निवासमा गएपछि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले नाराबाजी गरेका छन् ।