भागरथीका बलात्कारीलाई कारबाही माग गर्दा सांसदसहित ७ पक्राउ

काठमाण्डु टुडे २०७७ माघ २५ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २५ माघ– बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्नेहरुमाथि प्रहरीले दमन गरेको छ ।

बलात्कारीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं) को नेतृत्वमा आइतबार राजधानीको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनमा जनमोर्चाअध्यक्ष चित्रबहादुर केसीसमेत सहभागी थिए । प्रदर्शनमा सहभागी जनमोर्चाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य पियारी थापासहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, सचिव सुवास जिसी, केन्द्रीय सदस्यहरु विवेक बीसी, प्रतिभा आचार्य , सुमन पौडेल ध्रुव बस्याल छन् । जनमोर्चा अध्यक्ष केसीले पक्राउ गरेकाहरुलाई निःसर्त रिहाइको माग गरेका छन् ।

राज्यले बलात्कारीमाथि कारबाही गर्नुको साटो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि धरपकड र पक्राउ गरेको भन्दै केसीले आपत्ति जनाए । बुधबार विद्यमालयबाट फर्कंदै गरेकी भागरथीको शव बिहीबार घरदेखि करिब ढेड किलोमिटर पर जंगलमा भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us