अबको प्रधानमन्त्री म होइन, देउवाः प्रचण्ड

काठमाण्डु टुडे २०७७ माघ ७ गते १०:२० मा प्रकाशित

काठमाण्डु, ७ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुन सक्ने बताएका छन् ।

प्रतिनिधिसभा पुर्नस्थापना भएपछि देउवा प्रधामन्त्री बन्ने उनले स्पष्ट गरे । प्रचण्डले संविधान र प्रणाली बचाउन तथा मुलुकलाई स्थायित्व र विकास दिने सर्तमा देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताए । ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन’, प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलासँग उनले भने, ‘हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

संविधान र व्यवस्था बचाउन प्रणालीको रक्षा गर्न तथा स्थायित्वका लागि आफूहरु काँग्रेस र जसपासँग सहकार्य गर्ने तयारीमा रहेको र त्यसका लागि छलफल जारी रहेको उनको भनाइ छ । प्रचण्डले आफ्नो भने प्रधानमन्त्रीमा दाबी नरहेको उल्लेख गरे ।

‘म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभएको छ । । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने हो । त्यसको निम्ति पनि म प्रधानमन्त्रीमा दाबी गर्दिनँ ।’

प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी स्वेच्छाचारी ढंगले संसद विघटन गरेको दाबी गरे पनि ओलीको कमले संसद भंग नभएको दाबी गरे । ओलीले संसद नभई आफ्नै सरकार भंग गरेको उनले बताए । ‘जालझेल गरेर केपीले भंग गरें भनेको मात्र हो, सांसद त जिउँदैछन्, संसद जिउँदैछ’, प्रचण्डले भने, ‘त्यसकारण संसद पुर्नस्थापना हुनुपर्छ ।’ संसद् पुर्नस्थापना नभए मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us