
काठमाण्डु, ६ माघ– नेकपाको प्रचण्ड–नेपाल पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका ओली पक्षका अध्यक्ष केपी ओलीलाई भित्तामा पु¥याउने चेतावनी दिएका छन् ।
आफू पकाउँदा भावुक भएर फकिने तर, निर्मम हुँदा भित्तामै पु¥याउने चरित्रको भएको उनको भनाइ थियो । ‘म अलि भावुक खालको छु, फकायो भने फकिहाल्छु’, प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म युद्दको पनि कमान्डर हुँ । कठोर हुने अवस्था आयो भने भित्तामै पुर्याउँछु ।’ पार्टीका सबै कमिटीमा अल्पमतमा परेपछि ओली भागेको आरोप लगाए । ओलीले गत वैशाखमै पार्टी फुटाउन एमाले नामको दल दर्ता गराएको भए पनि पटकपटक अपमान सहेर माधव नेपाल र आफूले एकता बचाएको दाबी गरे । ओली पार्टी बैठकमा नआउने र आए पनि आफैं सहभागी भएर गरेको निर्णय उल्लंघन गरेको टिप्पणी गरे ।
प्रचण्डले आफूमाथि ओलीले पूर्वएमालेमा खेलेको आरोप लगाउने गरेको भन्दै त्यसमा असहमति जनाए । ५० वर्षसम्म एउटै पार्टीमा काम गरेका माधव नेपाल र झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने ओलीले भर्खरै पार्टी एकतामा आएको प्रचण्डलाई पूर्वएमालेमा खेलेको भन्दै नसुहाउने उल्लेख गरे । ‘मलाई आरोप लगाउनुभन्दा पहिला आफ्नो अनुहार ऐनामा हेर्नुस्’, प्रचण्डले भने, ‘५० वर्षसँगै काम गरेका स्थापित व्यक्तित्वहरु माधव नेपाल र झलनाथ खनाललाई किन विश्वासमा लिन सक्नुभएन ?’