
परासी, ९ जेठ– खोलाहरूमा एक्साभेटरको प्रयोग गर्न नपाइने मन्त्रिपरिषद्को निर्णयलाई उल्टाउँदै स्थानीय विकास मन्त्रालयको निर्देशनमा नवलपरासीको केरुङगे खोलामा धमाधम एक्साभेटरको प्रयोग भइरहेको छ ।
आर्थिक प्रलोभनमा परेर सचिवस्तरीय बैठकले खोलामा एक्साभेटर लगाउन दिएको आरोप स्थानीयवासीले लगाएका छन् । प्रतिबन्ध लगाइएको खोलामा अनुमति नलिई एक्साभेटरको प्रयोग गरेको भन्दै केही दिनअगाडि प्रहरी प्रशासन र जिल्ला विकास समितिले एक्साभेटर प्रयोगमा रोक लगाएको थियो ।
एक साताअघि ठेकेदारको आग्रहमा सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट उपसचिवस्तरीय अनुगमन टोली आई मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि मन्त्रालयले एक्साभेटर लगाउन निर्देशन दिएको जिल्ला विकास समिति नवलपरासीले जनाएको छ ।
अहिले खोलामा एक्साभेटरबाट ढुङ्गा, गिट्टी र बालुवा निकासी भइरहेको छ । एक्साभेटर लगाउादा स्थानीय शिवमन्दिर पूरै डुबानमा पर्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।