काठमाण्डू, ७ असार– प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन । आज (आइतबार)बाट चितवनमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन ।
उनले आफूले हांकिरहेको सरकारको गाडीबारे चिन्ता नलिन समेत अनुरोध गरेका छन । सोही सत्रमा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नहुने र बेला बेलामा ब्रेक पनि लाग्नुपर्ने बताएका थिए ।
‘सरकार भनेको त गाडीजस्तै हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको भेटियो,’ सो विषयमा जवाफ दिँदै प्रधानमन्त्री बालेनले भने, ‘त्यस्तो चिन्ता चाहिँ लोकल रोडमा सिधा गइरहँदा कहिले लेफ्ट, कहिले राइटबाट मान्छे आउँछ । हाम्रो गाडी लोकल रोडमा हिंडेको होइन । हाम्रो गाडी एक्सप्रेस वेमा हिंडेको गाडी हो ।
गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’ गन्तव्यमा पुग्नुअघि ब्रेक लाग्नु जरुरी नभएको उनले बताए । उनले आफू नेतृत्वको सरकारको गाडी अनियन्त्रित पनि नभएको जिकिर गरे ।