काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले २०१८ सालको एउटा ऐतिहासिक घटनाको स्मरण गरे । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले भने,‘तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ कम्तिमा ५० जनाको शव गाडिएका छन् ।
उनीहरूलाई २०१८ सालमा पञ्चायत सरकारले काटेर गाडेको थियो । उनीहरूले चार तारे झण्डा उठाउँदै जय नेपाल भनेका थिए तर आफ्ना लागि होइन लोकतन्त्र, तपाईं र हाम्रा लागि, ‘त्यहि कारणले तपाईंले निलो झण्डा फहराउन पाउनु भएको छ । एक पटक झण्डा फहराउँदै गर्दा निलो झण्डा मुनि अलिकति रातो छ । चितवनको जमिनमा पनि त्यो रातो छ ।
त्यो रातो ती सहिदहरूले लगाएको रातो हो ।’कांग्रेस सभापति थापाले उल्लेख गरेको साढे छ दशक पुरानो चितवन, भरतपुरको घटनामा जगतप्रकाशजङ्ग शाह, हरिप्रसाद गुरुङ, बुद्धिसिंह राना, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, ट्राफिक तामाङ, पन्चे गुरुङ लगायतको निर्मम हत्या भएको इतिहासकारहरूले उल्लेख गरेका छन् ।
२०१८ साल माघ अन्तिम साता भरतपुर कब्जा गरेको भन्दै मुक्ति सेनालाई दमन गर्न काठमाण्डूबाट सेना पठाइएको थियो । रास्वपाका नेताहरूको ‘विगतका सबै खराब’ भन्ने भाष्यतर्फ लक्षित गर्दै थापाले भने, ‘३५ वर्षमा केही भएन नभन्नु होला । पञ्चायतको ३० वर्षका संघर्षका कथालाई अन्डरमाईन पनि नगर्नुहोला ।’
रास्वपाले विधि मिच्यो वा विजय उन्मादले अहंकारी बन्यो भने आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने उनले बताए । ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह र ठेकेदारको खुट्टा भाँच्छु भन्ने पूर्वाधार विकास मन्त्री सुनील लम्सालको भनाइको थापाले खण्डन गरे, शाह र लम्सालको नाम उच्चारण नगरी ।
यद्यपि करिब साढे १२ मिनेट भाषण गरेका थापाले अधिकांश समय रास्वपाको आलोचनामा भन्दा आत्मस्विकारोक्तिमा खर्चिए । विगतमा दलहरूले गरेका गल्तीबाट पाठ सिकेर रास्वपा सफल हुनु पर्ने उनको भनाइको सार थियो ।
पार्टी संस्थापन ‘नसुध्रिएको’ भन्दै विशेष महाधिवेशन आयोजना गरेर पार्टीको नेतृत्वमा पुगेका थापाले पार्टीभित्रको कमीकमजोरी सुधार्न सबैभन्दा चुनौतीपूर्ण रहेको बताए । गल्ती गर्दा आफ्नै पार्टीका नेतालाई समेत प्रश्न गर्न छाड्न नहुने उनको सुझाव छ ।