
काठमाण्डु, ९ जेठ –मन्त्रिपरिषदको बिहीबारको बैठकमा सहसचिवहरुको पदस्थापना र सरुवाको बिषयलाई लिएर दुई मन्त्रीबीच भनाभन भएको छ ।
सामान्य प्रशासन मन्त्री लालबावु पण्डित र अर्थमन्त्री रामशरण महतबीच जगेडाका सहसचिवको सरुवा नगरिएको भन्दै विवाद भएको हो ।
अर्थमन्त्री महतले आफ्नो मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिव भरत सुवेदीलाई सरुवा नगरिएको भन्दै अन्य १० सहसचिवको सरुवा र पदस्थापना अवरोध गरेका छन् ।
सामान्य प्रशासनमन्त्री पण्डितले मन्त्रालयको अतिरिक्त समूहमा रहेका १० सहसचिवको बिभिन्न मन्त्रालय र निकायमा सरुवाो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर सरुवा सूचीमा आफूले खोजेका सुवेदीको नाम नभएपछि महतले आपत्ति जनाउँदै अन्यको सरुवा हुन नदिने अडान राखेका हुन् ।
मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री महतले सामान्यको जगेडामा रहेका सहसचिव सुवेदीलाई अर्थ मन्त्रालयमा सरुवा गर्नुपर्ने माग गरेका थिए । अर्थमन्त्रीको मागपछि सामान्य प्रशासनमन्त्री पण्डितले कुनै पनि हालतमा सुवेदीलाई अर्थमा नपठाउने अडान राखेका थिए ।
‘मेरो मन्त्रालयमा मान्छे घटाउने तपाई को ? ’ महतले प्रश्न गरेका थिए । जवाफमा पण्डितले ‘त्यत्रा सहसचिव हुँदाहुँदै सुवेदी नै किन चाहियो ?’ भनेर उल्टै प्रश्न गरेका थिए ।