काठमाण्डु, ८ जेठ – राष्ट्रिय मानवअधिकार आयोगले आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि छानबिन गरी कारबाही सिफारिस गरेको छ ।
आमाघरका रहेका बालबालिकालाई अरुको घरमा श्रम गर्न पठाइएको भन्दै बिहीबार आयोगले छानबिन गरी कारबाही सिफारिस गरेको हो ।
आमाघरमा रहेका बालबालिका अन्यत्र पढाइएको विषयमा आयोगमा उजुरी परेको थियो । आमाघरले अनुमति नलिई बालगृह सञ्चालन गरेको, त्यहाँ राखिएको ज्येष्ठ नागरिक र बालबालिकाको तथ्यांक नराखिएको, सरसफाईको राम्रो प्रबन्ध नभएको, घरेलु कामदारको रुपमा बालबालिकालाई अन्यत्र पठाइएको लगायत उजुरीबारे आयोगले छानबिन गरेको थियो ।
आयोगले अनुसन्धानका क्रममा बालबालिकालाई श्रमका लागि आमाघरबाट अन्यत्र पठाइने गरिएको, आमागृहमा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकको तथ्यांक नराखिएको, आमाबाबु भएका बालबालिकालाई पनि आमाघरमा राखिएको लगायत तथ्य पुष्टि भएको जनाएको छ ।
‘अनुगमन टोलीले अनुगमन गरिरहँदा संस्थाबाट एक जना वृद्ध हराएको तीन दिनपछि कालीमाटीमा भेटिएको भनी प्रहरीले संस्थामा ल्याउँदै गरेको पाइयो’, आयोगले भनेको छ, ‘ती वृद्ध हराएको बारे आमाघर बेखबर रहेको पाइयो ।’
प्रतिवेदनमा आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले सोधपुछका क्रममा केही बालबालिकालाई अभिभावकले ल्याउने गरी लगेको, केहीलाई नातेदारकामा पठाएको र केहीलाई धनी व्यक्तिको घरमा राख्न पठाएको बयान दिएको प्रतिवेदनमा छ ।
यस्तै आयोगले आमाघरले बालबालिकालाई जवर्जस्ती धर्म परिवर्तन गराउने गरेको पाइएको पनि जनाएको छ । ‘बालबालिकाहरुलाई क्रिश्चयन धर्मको मात्र पुस्तक र प्रार्थनामा सहभागी गराउने गरिएकोबाट प्रचलित कानुनविपरीत धर्म परिवर्तन गराउने मनसाय राखेको देखिन्छ’ आयोग प्रतिवेदनमा उल्लेख छ ।