
विराटनगर, ७ जेठ – वैज्ञानिक वन व्यवस्थापन लागू गरिएमा राज्यलाई वार्षिक रु २९ अर्ब आम्दानी हुने बताइएको छ ।
वन व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा क्षेत्रीय वन निर्देशक डा राजनकुमार पोखरेलले सो कुरा बताएका हुन् ।
सो अवसरमा उनले आगामी कात्तिक महिनादेखि मोरङ जिल्लामा आधुनिक वन व्यवस्थापन लागू गरी यस क्षेत्रका जनताको काठको माग पूरा गर्ने विश्वास व्यक्त गरे ।
उनले मोरङ जिल्लाको लाटीझोडा वन क्षेत्रलाई एउटा आधार बनाई आठ÷आठ भागमा बाँडी प्रत्येक १० वर्षसम्म एक भागमा कार्य गरी यस क्षेत्रको वन संरक्षण हुनुका साथै दक्षिणी सीमा क्षेत्रका जनताको वनको अधिकारसमेत कायम हुने बताए ।
कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका प्रमुख श्रीप्रसाद बरालले मोरङ जिल्लाको वन क्षेत्रमा फायर लाइन निर्माण गरिएको जानकारी दिँदै डढेलोबाट वनजङ्गल जोगाउन सहज भएको छ जानकारी दिए ।
उनले मोरङमा वैज्ञानिक वन व्यवस्थापन लागू गर्न सञ्चारकर्मीले सहयोगीको भूमिका खेल्न आग्रह गर्दै यसबाट नयाँ बिरुवा पुनस्थापना भई पुराना रुखलाई व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरे ।
सहायक वन अधिकृत जनक पाध्याले व्यवस्थापन लागू भएमा सालको काठको मूल्य रु दुई हजार ४०० क्युफिट कायम हुने बताए ।
सो अवसरमा सहभागीले सालको रुखलाई वन क्षेत्रमा वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताएका थिए ।
अन्तक्र्रिया कार्यक्रमा दैनिक, साप्ताहिक, टेलिभिजन र एफएमका गरी करिब २० जना सञ्चारकर्मीको सहभागिता थियो ।