काठमाण्डु, ५ जेठ – संविधानसभा र व्यवस्थापिका–संसद मातहतका समितिका बैठकहरु एउटै समयमा पर्दा सभासद्हरू हाजिर गरेर बाहिरिने परिस्थिति देखा परेको छ ।
दुवै निकाय मातहतका समितिका बैठक बस्ने समयतालिका नमिलेर जुधेपछि सभासद््हरूलाई हाजिर गरेर उत्तिनै खेर बाहिरिनुपर्ने अवस्था सिर्जना भएको हो ।
संविधानसभा मातहतको सवैधानिक, राजनीतिक संवाद तथा सहमति समिति, नागरिक सम्बन्ध समिति र मस्यौदा समिति तथा व्यवस्थापिका–संसद मातहतको सुनुवाइ समिति र वातावरण समिति गरी पाँचवटा समितिको बैठक आज बिहान एउटै समयमा चलेका थिए ।
यसरी समितिको बैठक जुध्दा सभासद््ले एउटा समितिको बैठकमा उपस्थिति जनाएर अर्काे समितिको बैठकमा पुग्न हतारो गरेको देखिन्थ्यो ।
सभासद््को बैठकमा ज्यादै न्यून उपस्थिति देखेर समितिका केही सदस्यले आपत्ति जनाउँदै समितिको बैठक यही अवस्थामा चल्नुपर्ने तथा सभासद्् उपस्थित नहुने हो भने त्यस्ता सभासद्को नाम सार्वजनिक सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने व्यवस्थाको लागि प्रस्तावसमेत गरेका छन् ।
संवैधानिक, राजनीतिक संवाद तथा सहमति समिति ७३ सदस्यीय रहेको भएपनि आजको बैठकमा करिव २१ जना सभासद्ले मात्र पूरा समय खर्चिए । अधिकांश सदस्यहरू हाजिर गरेर बाहिरिएको देखियो ।
समितिको बैठकमा ज्यादै न्यून सभासद् भएको विषयले प्रवेश पाएपछि समितिका सभापति डा. बाबुराम भट्टराईले सुनुवाइ विशेष समिति र राजनीतिक संवाद समितिको बैठक एउटै समयमा पर्न गएकाले यो परिस्थिति आएको हो भन्दै आगामी दिन पहिले नै समझादारी गरेर नजुधाउने प्रयत्न गर्ने प्रतिक्रिया दिए ।
उनले भने – बैठक उपदेशमूलकको सट्टा उपलब्धिमूलक बनाउँदै लैजानुपर्दछ ।
समितिका सदस्य पूर्णबहादुर खड्काले समितिले नेता खोज्ने होइन, नेताले समिति खोज्ने बनाउन जरुरी रहेको बताउँदै त्यसका लागि समितिका निर्णय र बैठकमा उपस्थित नहुने सभासद्को नाम सार्वजनिक सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औल्याए ।