काठमाण्डु, २० वैशाख – आज विश्व प्रेस स्वतन्त्रता दिवश मनाइदै छ । नेपाल पत्रकार महासंघले काठमाण्डुमा प्रभातफेरिको आयोजना गरेको छ । प्रभातफेरी सहितको झाँकीले नगरका बिभिन्न ठाउँ परिक्रमा गर्नेछ ।
यसैअवसरमा सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले नेपालमा प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग र अभ्यासका लागि आवश्यक वातावरण कायम राख्न नेपाल सरकार सदैव प्रतिबद्ध रहने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री रिजालले प्रेस स्वतन्त्रता लोकतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ भएकाले यसको पूर्ण संरक्षण र प्रबद्र्धन हुनुपर्छ भन्ने मान्यताप्रति सरकारको विश्वास रहेको प्रष्ट पारेका छन् ।
जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यासले मात्र प्रेस स्वतन्त्रतालाई सबल बनाउन सघाउने भएकाले जनताको सुसूचित हुन पाउने नैसर्गिक अधिकारको प्रचलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाली प्रेस जगतको ध्यान जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासप्रति सम्वेदनशील हुन पनि रिजालले आग्रह गरे ।
सन्देशमा भनिएको छ–‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रचलनका क्रममा विभिन्न कठिनाइहरूसँग सङ्घर्ष गरेका र आफ्नो जीवनसमेत आहुती दिएका तमाम पत्रकारहरूप्रतिे उच्च योगदानको स्मरण गर्न चाहन्छु रसम्मान अर्पण गर्दछु ।’
सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले प्रेस स्वतन्त्रता सञ्चारकर्मीहरूको विशेष हक मात्र नभई सबै नागरिकको संविधानप्रदत्त मौलिक हकको उचित प्रयोग र उपभोगका लागि पनि सबैसँग आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको युनेस्कोले यस वर्ष ताकेको विश्व प्रेस स्वतन्त्रता दिवसको ‘उज्ज्वल भविष्यका लागि प्रेस स्वतन्त्रता सन् २०१५ पछिको विकास लक्ष्यको स्वरुप निर्धारण’ नारा नेपालको सन्दर्भमा पनि सान्दर्भिक रहेको उल्लेख गर्दै मन्त्री रिजालले हाम्रो राजनीतिक र नागरिक स्वतन्त्रताको प्रबद्र्धनका लागि मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक विकासका अभियानलाई सफल बनाउन र देशको समृद्ध भविष्य सुनिश्चित गर्न स्वतन्त्र प्रेस र सञ्चार जगतको स्वतन्त्रता अपरिहार्य आधार होे भनेका छन् ।