काठमाण्डु,१०मंसिर– दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।
साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ ।
समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का प्रतिनिधि सरस्वती केसी र खगेन्द्र पौडेल छन् । मुलुकको विभिन्न जिल्लामा यही मङ्सिर १५ देखि २४ गतेसम्म साग आयोजना हुँदैछ ।
‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।
यसपटकको साग सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाल प्रहरीबाट मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
सुरक्षाका लागि जिल्लाबाट समेत प्रहरी झिकाइएको छ ।
पोखरेलले भने, ‘नेपालमा सुरक्षाको चुनौती खासै छैन, सानातिना आउनसक्ने चुनौतीको विश्लेषण गरेर खेल हुने स्थानसहित विमानस्थलदेखि आवासस्थलसम्मको सुरक्षा प्रबन्ध गरिएको छ, खेलस्थलमा दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी राखेर सोहीअनुसारको सुरक्षा मिलाइनेछ ।’
साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट मात्रै पाँच हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए । तीन हजार बढी नेपाली सेना खटिनेछन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रतियोगिता हुन लागेकाले शान्ति सुरक्षालाई महत्वका सा
थ हेरिएको छ ।