शिल्पा र छविविरुद्ध ५ वर्ष जेल र ५० हजार जरिवानाको माग

काठमाण्डु टुडे २०७६ कार्तिक २७ गते १३:२८ मा प्रकाशित

काठमाण्डु , २७ कात्तिक – अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर भएको छ। उनीहरु विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ।

उनीहरु विरुद्ध गत कात्तिकमै मुद्दा दायर भए पनि मुद्दा दर्ता भएको रहस्य मंगलबारमात्र खुलेको हो।सर्वोच्च अदालतमा शिल्पा पोखरेलले जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध दायर गरेको निवेदनमा सरकारी वकिलको कार्यालयले जिल्लामा मुद्दा दायर भएको जानकारी गराएपछि यो रहस्य खुलेको हो।सरकारी वकिलको कार्यालयले कात्तिक २८ गते दुवैविरुद्ध विवाह बदर र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।यसरी मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको थियो।

सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी संहिताको दफा १७५ को उपदफा १, २ ,४ र ५ को अभियोग दाबी गरेको छ।जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो। बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो। उनीहरु पक्राउ नपरेपछि सरकारी बकिलको कार्यालयले बहुविवाह मुद्दा दायर गरेको हो।

दुवैको बयान नगराई मुद्दा
जिल्ला अदालतको पक्राउ पुर्जीपछि फरार रहेका उनीहरुको बयान नै नभएपछि सरकारी वकिलको कार्यालयले हदम्यादभित्र मुद्दा दायर गर्नुपर्ने बाध्यतामा बीचमा फितलो मुद्दा दायर गरेको छ।जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध दुवै पक्ष उच्च र सर्वोच्चसम्म धाउन थालेको र जाहेरी परेको ३५ दिनभित्र मुद्दा दायर गर्नुपर्ने बाध्यतापछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।जिल्लामा मुद्दा दायर भएपछि अब दुवैका नाममा अदालतबाट म्याद जारी हुनेछ।अदालतको म्याद बुझेर उनीहरु जिल्ला अदालत हाजिर हुनुपर्ने छ।

अदालत उपस्थित नभएमा भने अदालतले अन्य प्रक्रिया अवलम्बन गरी मुद्दाको किनारा गर्ने छ। जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन्। शिल्पाले २०७६ साउन २९ गते रिट हालेकी थिइन्। उक्त रिटमा सुनुवाई गर्दै भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले दिएको आदेश अनुसार पक्राउ पुर्जी कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो। जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरू हालसम्म फेला परेका छैनन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us