काठमाण्डु , ५ असोज —बैंक अफ काठमाण्डुबाट भएको साढे ४ करोड कर्जा हिनामिनामा पुर्व डिआइजी सहित ११ जना पक्राउ परेका छन् । नक्कली जग्गा धितो राखेर सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित१जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक अफ काठमाण्डुमा भएको कर्जा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको छ ।खोलाले बगाइसकेको एउटा जग्गालाई धितो कायम गरी डेढ लाख रुपैयाँ कर्जा प्रवाह गरेको घटनाको अनुसन्धान गर्दा सोही प्रक्रिया अपनाएर अन्य ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको सीआईबीका प्रवक्ता (प्रहरी उपरीक्षक) बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रवक्ता पाण्डेका अनुसार कर्जा अनियमितता प्रकरणमा बैंक अफ काठमाण्डुका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ४ जना पूर्व कर्मचारी र ३ जना वहालवाला कर्माचारी पक्राउ परेका छन् । यस्तै, अन्य ४ जना ऋणि बनेका व्यक्तिलाई पक्राउ गरिएको पाण्डेले बताए ।
पाण्डेका अनुसार बैंकका पूर्व सीईओ श्रेष्ठ समेतको मिलेमतोमा विभिन्न ठाउँका जग्गालाई धितो देखाएर ४ करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ ।‘पहिले डेढ करोड र पछि तीन करोड गरी उनीहरुको समूहले अहिलेसम्म बैंकबाट ४ करोड ५० लाख ऋण निकालेर अनियमितता गरेको देखिएको छ,’ सीआईबीका प्रवक्ता पाण्डेले भने, ‘यो समूहले अरु पनि अनियमितता गरेको देखिएको छ । थप अनियमितताका विषयमा अनुसन्धान भइरहेको छ ।’
सीआईबीका प्रवक्ता पाण्डेका अनुसार बैंक अफ काठमाडौंको कमलादी शाखाबाट उक्त कर्जा प्रवाह गरिएको थियो ।