
काठमाण्डु , २७ भदौ — गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अंगीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।
उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको बताएका हुन् ।प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता सम्वन्धी बिधेयकमाथिको छलफलमा गृहमन्त्री थापाले सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको पनि जानकारी दिए ।
गृहमन्त्री थापाले नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुषसँग विहे गर्ने महिलालाई नेपाली अंगीकृत नागरिकता प्राप्त गर्ने समय सात वर्ष तोकिएको पनि उल्लेख गरे । नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै छ महिनादेखि छलफलकै क्रममा रहेको छ ।
आजको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संशोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन । विधेयकमा नेपाली अंगीकृत नागरिकता पाउनका लागि नेपाली पुरुष संग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।