
काठमाण्डु २७ भदौ — आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्की आएको छ ।
गोरखाका वेदप्रसाद काप्रीले भाद्र २५ गते काठमाण्डुको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ज्यान मार्ने धम्की दिएका हुन् । काप्रीले आफुलाई कुनै न कुनै रुपमा ज्यान लिने भनेर धम्काएको रिजालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघले रिजाललाई ज्यानमार्ने धम्कि दिइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघ महासचिव रमेश विष्टले विज्ञप्ती प्रकाशित गर्दै कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको उल्लेख गरेका छन् ।
उनले प्रेस स्वतन्त्रता विरोधी धम्कीको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।