
काठमण्डु , २७ भदौ — कास्की घर भएका एलेन गुरुङ परिवारको त्रिभुवन विमानस्थलबाट अपरण भएको छ । गुरुङ परिवार बिहिबार सिक्किमबाट भद्रपुर हुँदै काठमाण्डु आउँदै थिए । अपहरणमा एलेनको ८ महिनाको छोरा र श्रीमती परेका हुन् । उनीहरुलाई ४ जनाको समूहले अपहरण गरेका थिए ।
सिन्धुपाल्चोकका दिनेश लामा, चन्द्रागिरी नगरपालिका सतुङ्गलका सुशील उप्रेती, नुवाकोटका मिलन राई र नागार्जुन नगरपालिका सितापाइलाका बिनेश पहरीले एलेनको परिवारलाई अपहरण गरेका हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार एलेनको परिवारलाई उनीहरुले एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा उनीहरुलाई ढुकेर बसेको समूहले अपहरण गरेको थियो ।
उनीहरु बुद्ध एयरको जहाजबाट काठमाडौँ आएका थिए । एलेनको परिवार एयरपोर्टमा उत्रिने बित्तिकै अपहरणकारीले एउटा ट्याक्सी र एउटा प्राइभेट कारमा हालेर सिधै सोल्टीमोड पुर्याएका थिए ।
परिसरका प्रवक्ता बोगटीले जहाजमा एलेनसँगै आएका एक यात्रुले फोन गरेर एलेन परिवालाई अपहरणशैलीमा जर्बजस्ती बा२झ१ नम्बरको ट्याक्सी र एक गाडीमा हालेर लगेको सूचना दिएको बताए । ‘ट्याक्सी नम्बरको आधारमा खोजी गर्दै जाँदा उनीहरुले एलेन परिवारलाई कालीमाटी लगेको पाइयो, डीएसपी बोगटीले भने, ‘लगत्तै कालीमाटी वृत्तलाई उनीहरुको खोजी गर्न निर्देशन दिइएको थियो ।
अपहरणकारीलाई कालीमाटीस्थित सोल्टीमोड मार्गनजिकै रहेको हङ्ग्री एण्ड फुड क्याफेबाट पक्राउ गरिएको डीएसपी कुँवरले जानकारी दिए । एलेनको परिवारलाई अपरहण गर्नुको कारण आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ ।
अपहरणकारीको समूह क्यासिनोमा जुवा खेल्नेहरुलाई पैसा लगानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । एलेन पनि क्यासिनो खेलाडी हुनसक्ने बताइएको छ ।
अपहरणकारी समूह र एलेनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा क्यासिनो खेल्न कडाइ भएपछि अपहरणकारीहरुले सिक्किममा गएर क्यासिनो खेल्ने-खेलाउने गरेको प्रहरीको भनाइ छ । उनीहरु क्यासिनो खेलाडी रहेको पाइएको छ ।