
ललितपुर , २७ भदौ – नेपाल मेडिसिटी अस्पतालले बिना शल्यक्रिया नै महिलाकाे पाठेघरमा भएको ट्युमरको उपचार गरेको छ ।
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् ।
पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्क्रिय पार्ने यो पद्वतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ । उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा। ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको र पहिलो पटक सफल भएको बताए ।
सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा। राम कुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा। ओम बिजु पन्त, एनेस्थेसियोलोजिष्ट डा। प्रज्वल भट्टराई र डा। हेमन्त अधिकारी संलग्न थिए ।
साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने भए पनि इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउँदै लैजाने काम गर्ने चिकित्सकहरुले बताए । यो प्रक्रिया ३७ वर्षिय महिलामा गरिएको हो जसमा बहुसंख्यामा ट्युमर देखिएको थियो ।