डेंगुको डरलाग्दो तथ्यः संक्रमित ५ हजार नाघे

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १४:४९ मा प्रकाशित

काठमाण्डु– काठमाण्डु लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ भने ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् । महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा अनुसार प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ ।

प्रदेश ३ मा मात्रै भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्यांक छ । यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या एक हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ ।

यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै डेंगुका बिरामी काठमाण्डु र चितवनका छन् । साउन यता मात्रै काठमाण्डुमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ ।

यस्तै मकवानपुरमा ७ सय २८ जना, ललितपुरमा ३५ जना, भक्तपुरमा ३३ जना, धादिङमा १८ जना , काभ्रेमा ४ जना, सिन्धुलीमा ३ जना, नुवाकोट, दोलखा र रामेछापमा २–२ जना र सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us