
काठमाण्डु,१३ साउन —नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक २८ साउनसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकमा पार्टीको स्कुल विभागमा देखिएको विवाद समाधान हुन नसकेपछि थप छलफल गर्न भन्दै बैठक स्थगित गरिएको हो ।
ज्येष्ठ कम्युनिस्ट मञ्च, विभागहरु, जनवर्गीय संगठनको नेतृत्वलगायतमा इच्छुकहरुसँग छलफल गरी कार्यविभाजन प्रस्ताव ल्याउने एक नेताले जानकारी दिए ।
नेकपामा स्कुल विभागको जिम्मेवारीको विषयमा विवाद छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको चौध महिनापछि पनि विभागको टुंगो लागेको छैन ।
स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । दुवै नेताले स्कुल विभागमा दाबी नछोडेपछि सचिवालयले विभागको जिम्मेवारी तोक्न सकेको छैन । सामाजिक सञ्जालमा घनश्याम भुषाललाई जिम्मेवारी दिनु पर्ने आवाज उठेको छ ।