भीम रावल, योगेश भट्टराई र भुसाललाई मन्त्रीमा ‘इन्ट्री’ गराउने ओलीको रहर !

काठमाण्डु टुडे २०७६ साउन ११ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, ११ साउन– प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् ।

सरकारको काम प्रभावकारी नभएको गुनासो पार्टीपंक्ति र आमजनताबाट आउन थालेपछि ओली मन्त्रिपरिषद पुनर्गठनको तयारीमा जुटेका हुन् । बालुवाटार स्रोतका अनुसार सरकारबाट कुन–कुन मन्त्रीलाई ‘आउट’ गर्ने र कस–कसलाई ‘इन्ट्री’ गर्ने भन्ने निर्णय गर्न बाँकी छ । यद्यपि अबको मन्त्रिपरिषदमा नेकपा नेता भीम रावल, योगेश भट्टराई र घनश्याम भुसाललाई मन्त्री बनाउने सोचमा ओली छन् ।

ओलीले रावल, भट्टराई र भुसाललाई बालुवाटार बोलाएरै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेता भट्टराईले ओलीले सरकारमा बसेर सहयोग गर्न आग्रह गरेको स्वीकार गरे । ‘उहाँले सरकारको समीक्षाका लागि बोलाउनुभएको हो’, भट्टराईले भने, ‘बाहिरै बसेर सरकारको कामलाई ‘डिफेन्ड’ गरेकामा धन्यवाद भन्नुभयो र भित्रै आएर सहयोग गर्न आग्रह गर्नुभयो ।’ यी तीनै नेता सरकारको आलोचकका रुपमा परिचित छन् । रावल र भुसालको तुलनामा भट्टराईले भने सरकार अप्ठेरोमा फसेका बेला बचाउ गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us