राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता–२०७६

काठमाण्डु टुडे २०७६ असार ३१ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, ३१ असार- कपिलवस्तुको तिलौराकोटमा आगामी असोज १० र ११ गते ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना हुने भएको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् ।

६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिनेपनि अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा जम्मा १३ लाख लाग्ने उनले बताए । उक्त प्रतियोगितालाई सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको पनि उनले बताए ।

यो प्रतियोगिता सफल बनाउनको लागि कपिलवस्तु नगरपालिका तथा विभिन्न संघ, संस्था र गाउँपालिकाहरुले सहयोगको प्रतिबद्धता जनाएको बताए । उनले आफूले प्रतियोगिताको शोभा तथा गरिमा बढाउनको लागि भारतबाट अन्तर्राष्ट्रिय बडी बल्डिङ कोच तथा भारतीय सत्तारुढ दल भाजपाका नेतासमेत रहेका सुवास भदानालाई निमन्त्रणा गरिएको सुनाए ।

गिरीले भारतको आसाममा हुन गैरहेको ‘वल्र्ड पावर लिफ्टीङ च्याम्पियनसिप’ मा नेपालबाट छनौट गरेर लैजानेपनि घोषणा गरे । कार्यक्रममा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर बडि बिल्डिङ संघका अध्यक्ष बाबुकाजी मानन्धर, भक्तपुर बडि बिल्डिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर र प्रतियोगिताका बरिष्ठ निर्णायक तथा निर्णायक समितिका सदस्य प्रतापकाजी बारियाको उपस्थिति थियो ।

प्रतियोगिता अवधिभर सम्पूर्ण अतिथि तथा निर्णायकहरुलाई तौलिहवामा रहेको गौतम बुद्ध होटेलमा राखिनेछ । पत्रकार सम्मेलनमा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले उक्त प्रतियोगितामा आफ्नो संघबाट २५ जनाको सहभागिता रहने बताए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us