
काठमाण्डु, २७ असार– कृषिमन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले फलफूल तथा तरकारीमा विषादी परीक्षण नरोक्न पठाएको दबाबमुलक पत्र आफूले प्रधानमन्त्री केपी ओलीलाई देखाएको खुलासा गरेका छन् ।
प्रधानमन्त्री ओलीले पत्रबारे आफूलाई कसैले जानकारी नगराउँदा फसेको भन्दै क्षमा मागेको भोलिपल्ट मन्त्री खनालको यस्तो दाबी आएको हो । नेकपा संसदीय दलको बैठकमा त्यसबारे सांसदहरुको प्रश्न उठाएपछि प्रधानमन्त्री ओली १७ असारमा दूतावासबाट पत्र नआएको दाबी गर्दै जथाभावी नबोल्न उल्छै सांसदलाई चेतावनी दिएका थिए । तर, सञ्चारमाध्यममा पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले बिहीबार आफूलाई झ्ुक्याइएका कारण गलत दाबी गरेको र त्यसबाट लज्जित हुनुपरेको भन्दै क्षमा मागेका थिए ।
खनालले प्रधानमन्त्रीलाई सम्बन्धित मन्त्रालय (परराष्ट्र) ले जानकारी नगराएको थाहा पाएपछि आफूले पत्र देखाएको बताए । खनालले पत्र आउँदा आफू उपत्यका बाहिर रहेको र पछि थाहा पाएर प्रधानमन्त्रीलाई देखाएको बताए । ‘मैले प्रधानमन्त्रीलाई थाहा रहेनछ भन्ने बुझेपछि उहाँलाई पत्र देखाएँ’,कालिमाटीस्थित फलफूल तथा तरकारी बजारको विषादी प्रयोगशाला निरीक्षणपछि सञ्चारकर्मीसँग खनालले भने, ‘पत्र हेरेपछि प्रधानमन्त्रीले मलाई त जानकारी नै दिएन भन्नुभयो ।’ पत्रको बोधार्थ भारतीइ दूतावासले कृषिसहित अन्य मन्त्रालयमा पनि पठाएको बताए ।