
काठमाण्डु, २७ असार- प्रधानमन्त्री केपी ओलीले विषादी प्रकरणमा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् ।
त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने बताए । ओलीको संकेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवतर्फ थियो । कान्तिपुर दैनिकबाट