असार ९ र १० गते विदेशी च्यानल बन्द

काठमाण्डु टुडे २०७६ असार ३ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, ३ असार – इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ र १० विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका छन् ।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका हुन् ।

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा जति पनि विदेशी च्यानल छन् ती च्यालनले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख गरिएको छ । अहिले यो ऐन छलफलका लागि संंसद्मा पुगेको छ ।

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन असार ९ र १० गते २४ घण्टाका लागि विदेशी च्यानल बन्द गर्न लागिएको नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए ।

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको उनले बताए । यो प्राबधान लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने उनी बताउँछन् ।

साथै संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us