
काठमाण्डू, २२ असार– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन सरकारमा बस्नु सकसपूर्ण रहेको बताएका छन् ।
सानेपामा जारी पार्टी केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले गठबन्धन सरकारमा बस्दा वा नबस्दा दुवै अवस्थामा गाह्रो हुने बताए ।
कम्तिमा राज्यमा पार्टीको ५० प्रतिशत प्रभाव कायम राख्न आफूहरु एमालेसँगको गठबन्धन सरकारमा सामेल हुनुपरेको महतको भनाइ थियो ।
महतले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको भूमिका सन्तोषजनक नरहेको बताए । काँग्रेस मन्त्रीहरुको कार्यसम्पादन अरुको भन्दा प्रभावकारी हुनुपर्नेमा त्यस्तो नदेखिएको उनको भनाइ छ ।
फरक प्रसंगमा महतले सिनियर नेताहरु प्रदेशमा नबस्ने प्रवृत्तिले प्रदेश सरकारहरुमा बेथिति बढेको औंल्याए । ‘प्रदेशमा सिनियर नेताको अभावले अराजकता बढ्दो छ’, महतले भने, ‘यही कार्यशैली रहने हो भने संघीयताप्रति जनविश्वास गुम्ने खतरा छ ।’
महतले पछिल्लो समय पार्टीको जनमत खस्किँदै गएको स्वीकार गरे । काँग्रेसले मतदाता जोगाउन नसके ०८४ को निर्वाचनमा पार्टीले नसोचेको हार व्यहोर्नुपर्ने उनले उलेख गरे ।
पार्टीले धर्म, संस्कृति र परम्पराको संरक्षणमा ध्यान नदिएका कारण मतदातामा नैराश्यता बढेको तर्क महतले गरे ।