अछाममा भारतीय प्रहरी छिरेपछि गृहसचिवलाई भीम रावलको फोन

काठमाण्डु टुडे २०७६ असार ३ गते ११:३९ मा प्रकाशित

अछाम, ३ असार – जिल्लामा अनुमति बिना तीन जना सादा पोसाकमा भारतीय प्रहरी छिरेका छन् । उनीहरु नेपाली युवाले भारतीय युवती भगाएर ल्याएपछि छुटाउनका लागि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पुगेका थिए ।

सोही गाउँका एक युवाले भारतबाट केटी भगाएर ल्याएपछि भारतक कोरवा जिल्ला छत्तीसगढ़बाट तीन जना प्रहरी बिना अनुमति अछाम पुगेका हुन् ।

उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको जनाइएको छ । सोमबार दिउँसो अछाम पुगेका भारतीय प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको तर नियन्त्रणमा भने नलिइएको अछाम प्रहरीले जनाएको छ ।

भगाएर ल्याएकी केटी र केटालाई पनि आफूसँगै राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख कलेन्द्रविक्रम शाहीले बताए । भारतीय प्रहरी जयगढ पुगेपछि गाउँमा नगएको र पहिला प्रहरीको सम्पर्कमा आएको उनको भनाइ छ ।

कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरकी १६ वर्षीया छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको शाहीको भनाइ छ ।

प्रहरी निरीक्षक शाहीले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै सोही कुरा अवगत गराएका छन् । सादा पोसाकमा अछाम आउने भारतीय प्रहरीमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल रहेका छन् ।

सादा पोसाकका भारतीय प्रहरी अछाम आएको जानकारी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

घटनाको जानकारी पाए लगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले तीनै जना भारतीय सुरक्षाकर्मीलाई जयगढबाट जिल्ला प्रहरी कार्यालय अछाममा ल्याईएको र प्रहरीसँगै राखिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us