
कञ्चनपुर, ३१ जेठ – भीमदत्त नगरपालिका–८ वनगाँउ भगवती टोल जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रवार बिहान स्काभेटरले अटोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मृत्यु हुनेहरुमा बैतडी देहीमाण्डौंका २८ वर्षीय कृष्ण बोहरा, भारतको सहरनपुरका तिलप्रसाद र कास्कीको पोखराको पृथ्वीचोकका ३५ वर्षीया बीना रिजाल रहेका छन् ।
भीमदत्तनगर बाट गड्डाचौकी जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटरले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोलाई ठक्कर दिँदा उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । अटोमा सवार २५ वर्षीया लक्ष्मी बोहरा, उनका अढाई वर्षीय छोरा विशान्त र कञ्चनपुरको बेलडाँडीका सन्तोष लुहार घाइते भएका छन् ।
घाइते तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि कैलालीको सेती अञ्चल अस्पताल लगिएको छ । अटो चालक भीमदत्त नगरपालिकाको गडडाचौकीका प्रेम थापाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भारततर्फ लगिएको छ ।
सोही दुर्घटनामा गरी घाइते भएका साइकल यात्री जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको छ । पार्कीको खुट्टामा चोट लागेको छ । अवस्था समान्य रहेको बताइएको छ ।