
काठमाण्डू, २१ असार– प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको बताएका छन् ।
मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भएको भेटमा ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसर रहेको बताए ।
पर्याप्त विदेशी लगानी नआएसम्म नेपालको समृद्धिको यात्रा कठिन हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारले कानुनी र संरचनात्मक सुधारमार्फत वैदेशिक लगानीको वातावरण बनाउँदै गएको उल्लेख गरे । यस्तै आगामी दिनमा त्यस दिशामा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेबारे सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो । उनीहरुले आफूहरू नेपालमा नयाँ उद्यम स्थापनाका लागि व्यवसायिक वातावरणको अध्ययन गर्न तथा दुई देशको सम्बन्ध थप बलियो बनाउ भ्रमणमा आएको उनीहरुले बताए ।
प्रतिनिधिमण्डलले आफूहरूले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीका साथै उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार युवराज खतिवडालगायत थिए ।