लोकसेवा विज्ञापनलाई लिएर नेकपामै चर्काचर्की, छुट्टिए पूर्वएमाले र पूर्वमाओवादी

काठमाण्डु टुडे २०७६ जेठ ३० गते ६:२९ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाकै सांसदहरु नै दुई धारमा विभाजित भएका छन् ।

पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्देशन पालना गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको गहिराई नै नबुझी समितिले निर्णय गरेको बताउँछन् । निर्णयमा पुग्नुअघि पटकपटक बसेका समिति बैठकमा पनि उनीहरुबीच मतभेद रहँदै आएको थियो ।

फरक धारणा भएकै कारण समितिले निर्देशन दिने क्रममा एमाले पृष्ठभूमिका सांसदहरु विजय सुब्बा र झपटबहादुर रावल बैठकबाट बाहिरिएका थिए । उनीहरुले निर्णयमा आफूहरुको सहमति नरहेको जानकारीसमेत गराएका छन् । समितिमा ८ जना पूर्वमाओवादी र ५ पूर्वएमालेका छन् । सूर्य चिन्ह लिएर चुनाव लडेका वृजेशकुमार गुप्ता पनि समिति सदस्य छन् । पूर्वमाओवादीकी सांसद पार्वतीकुमारी विशंखेले समितिको निर्णयविरुद्ध सरकारले बोलेकामा आपत्ति जनाइन् । पूर्वएमाले सांसद महेश बस्नेतले विज्ञापन रद्द गर्ने समितिको निर्देशन विवादमा परेको बताए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us