
काठमाण्डु, २९ जेठ – नेकपा(मसाल)ले सरकारले बैठकबाट गिरफ्तार गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गरेको छ ।
यही जेष्ठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा(विप्लव)सित सम्बन्धित विद्यार्थी संगठनका २२ जना कार्यकर्ताहरु वैठकमा बसिरहेको बेलामा सरकारले गिरफ्तार गरेकोप्रति मसालले आपत्ति जनाएको हो ।
मसाल प्रवक्ता रामप्रकाश पुरीले बुधबार वक्तव्य प्रकासशित गरी शान्तिपुर्ण रुपमा भेला भएका विद्यार्थीहरुलाई गिरफ्तार गरेर सरकारले प्रजातान्त्रिक मूल्य, मान्यता तथा संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमा भेला भई आफ्ना राजनीतिक गतिविधि गर्न पाउने अधिकार नेपालको संविधानमा व्यवस्था भएको मौलिक अधिकारभित्रको कुरा हो । देशमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नका लागि सरकारले प्रयत्न गर्नुपर्दछ । तर संविधानले प्रदान गरेका मौलिक अधिकार शान्तिपूर्ण कार्यक्रम, विचार अभिव्यक्ति स्वतन्त्रता आदिमाथि दख्खल पुग्ने गरी सरकारले ती विद्यार्थीहरूलाई गिरप्तार गर्नु प्रजातान्त्रिक मूल्य र मान्यता, मानवअधिकार तथा नेपालको संविधान २०७२ विरुद्धको कुरा हो ।’
नेकपा मसालले सरकारलाई मानवअधिकार र मौलिक अधिकारहरुको सम्मान गर्न अपिल गर्दै गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।