पाइलटकाे गल्तीबारे बाेल्याे वायुसेवा निगम

काठमाण्डु टुडे २०७६ जेठ २८ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, २८ जेठ – नेपाल एयरलाइन्सले काठमाण्डु–दिल्ली उडानमा गम्भीर त्रुटी भएको भन्ने समाचारको खण्डन गरेको छ ।

गत साता आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५. एयरबस ३२०–२०० जहाज काठमाण्डुबाट भारतको नयाँ दिल्ली जाने तयारीमा रहेको जहाज आइआरएस प्रणाली अन नै नगरी टेकअफका लागि रनवे लगिएको भन्ने सामाचार बाहिर आएको थियो ।

निगमले आज एक वक्तव्य जारी गर्दै भनेको छ, ‘संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास गरिएको छ । भ्रामक र कल्पोल्कल्पित समाचारले निगमको व्यवसायमा ठूलो क्षति पुर्याउने भएकोले त्यसको पूर्ण खण्डन गरिन्छ ।’

यो सिस्टम सुचारी नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ । पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा सूचारु भइसकेको हुनुपर्छ । तर नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त जहाज उडानको समयमा गम्भिर लापरबाही गरेको खुलेकाे थियाे ।

यस्ताे छ निगमकाे प्रेस वक्तव्य

प्रेस विज्ञप्ति

मिति : २०७६/२/२७

नेपाल वायुसेवा निगमले सुरक्षालाई प्राथमिकतामा राखी सेवा दिदैं आएको सर्वविदित्तै छ । तर कतिपय संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास गरिएको छ, जसप्रति निगम खेद व्यक्त गर्दछ ।

जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल्कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पुर्याउने भएकोले त्यसको पूर्ण खण्डन गरिन्छ ।

उडानको क्रममा आइआरएस (IRS), जहाजको पोजिसन र नेभिगेसन सिष्टममा ठीक भए/नभएको देखाउने कम्प्यूटर डाटावेस प्रणाली सुचारु गरेर नै टयाक्सीवेमा (Taxi Way) लगिएको थियो र ट्याक्सी–वे (Taxi Way) मा नै रोकेर आइआरएस IRS, सुचारु गरेको कुरा सत्य होइन ।

निगमका पाइलटहरु आफ्नो दायित्व प्रति पूर्ण सचेत हुनुका साथै पूर्ण दक्ष भएकोले ट्याक्सी–वेमा (Taxi Way) आफ्टर स्टार्ट चेक लिष्ट (After Start Check List) र फ्लाइट कन्ट्रोल चेक (Flight Control Check) गर्नको लागि केही समय रोकिएको थियो । यसमा प्रि फ्लाईट चेक लिष्ट (Pre Flight Check List) र एस्ओपी (SOP – Standard Operating Procedure) पूर्णरुपमा पालना गरिएको जानकारी गराउँदछौं ।

एटीसीले (ATC) ट्याक्सी गरिराखेको वेलामा जहाज ११ डिएमई (DME) मा आउँदैछ, तपाईहरु छिटो टेकअफ (Take Off) गर्न सक्नुहुन्छ भनेर अनुरोध गर्दा पाइलटले जहाज अवतरण गरे पछि मात्र हामी उडान गछौं भन्ने जानकारी गराइएको थियो जसमा २ देखि ३ मिनेट ट्याक्सी–वेमा होल्डमा परेको थियो । सत्य तथ्य यही हो । यस्ता तथ्यहिन र भ्रामक समाचार सर्वसाधारण कसैले पनि विश्वास नगर्न हार्दिक अनुरोध गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us