
काठमाण्डु, २६ जेठ– यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् ।
चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ ।’
पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ ।’ धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो । अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर विजय यादव बताउँछन् । ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो। सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ ।’ अन्नपूर्ण पोस्टबाट