भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल

काठमाण्डु टुडे २०७६ जेठ २६ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ ।

नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो । घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नंं कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नंं कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्यो।

घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो ।  ‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना व्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन् । नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६–२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खानतलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us