
काठमाण्डु, २५ जेठ–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएका छन् ।
अछामको तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो । विस्फोटबाट कार्यालय रहेको स्थानीय दीपक बिसीको घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार घरको शौचालयमा विस्फोट गराइएको थियो । विस्फोटबाट भे७प ९६९८ नम्बरको मोटरसाइकल पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । घटनापछि शान्ति सुरक्षामा कडाई गरिएको शाहीले बताए ।