
चितवन, १९ जेठ – चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।
निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ ।
बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज विकलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विक गम्भीर घाइते छन् । घाइते विकलाई उपचारका लागि काठमाण्डु पठाइएको छ ।
बाघले विकलाई निकुञ्जको मुख्य कार्यालयबाट करीब १५० मिटर टाढा आक्रमण गरेको थियो । खोरमा राखिएको बाघको गतिविधि हेर्नका लागि सिसी क्यामेरा जडान गरिएको छ । रासस