
काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले सांसदलाई दिने भनिएको ६ करोड रकमबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
आज प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यको टिप्पणी गर्दै उनले भने, ‘सांसद्लाई दिएको रकम कसैले व्यक्तिगत रुपमा चलाउँदैन योजना छनोटका अधिकारमात्र हो । किन गलत टिप्पणी भइरहेको छ । अहिले पनि भारतले आठ करोड रुपैयाँ सांसद्बाट खर्च गर्छ । हामी यसको विपक्षमा हो भने साहसका साथ सबैले भनौँ । बहस गरौँ । हैन भने अनावश्यक टिप्पणी नगरौँ ।’
साथै उनले सरकारले ल्याएको बजेट ०५१ सालपछिकै उत्कृष्ट रहेको दाबी गरेका छन् । ‘०५१ को सरकारले सम्बन्धको परिभाषा गरेको थियो । सत्ता नागरिकमाथिको मात्र हो भन्ने परिभाषा बदलेको थियो । निजी क्षेत्रमात्र विकासको साधक हो भन्ने अवधारणा फेरको थियो। सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको थियो,’ उनले भने, ‘अहिले माननीय अर्थमन्त्री ०५१ को उक्त परिकल्पनको निरन्तरता दिँदै बजेट ल्याउनुभएको छ । यो बजेटमा नयाँ सन्दर्भमा आफ्नो गाउँ आफै बनाउको व्यवस्था गरेको छ । संविधानले उल्लेख गरेको अर्थतन्त्रको चरित्रलाई सन्तुलित ढंगले अघि बढाउने परिकल्पना गरेको छ । तीन खम्बे अर्थतन्त्रलाई सन्तुलित रुपमा अघि सारिएको छ ।’
अघिल्लो वर्ष संघीयताको जग मानिएको उल्लेख गर्दै उनले बजेटले आगमी वर्ष द्रुत आर्थिक विकासको वर्ष मानिएको बताए । उनले भने, ‘अर्थमन्त्रीले बजेटमा यसलाई प्राथमिकता दिनुभएको छ। हुलाकी राजमार्गले दक्षिण सीमाको आर्थिक र सामाजिक स्थरलाई माथि उठाउनेछ । यसलाई प्राथमिकता दिइएको छ । मध्यपहाडी लोकमार्गले पहाडी भेगको जनातको आर्थिक क्षमता बढाउनेछ । यसमा बजेट वृद्धि भएको छ ।’