
काठमाण्डु, १९ जेठ – सत्तारुढ नेकपाका एक सांसदले संसदका कुर्सीका कारण सांसदहरूको ज्यान धरापमा परेको भन्दै फेर्न संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् । उनले संसदका कुर्सीबाट धेरैपटक लडेपछि गुहार मागेका हुन् ।
प्रतिनिधिसभाको आइतवारको बैठकको शुरूमा सभामुखसँग समय लिएर नेकपाका खगराज अधिकारीले संसद भवनका कुर्सी धराप भएको बताएका हुन् । सांसद अधिकारीले आफू बसिरहेको कुर्सी उचालेर देखाउँदै चारपटकसम्म लडेकोले ज्यान जोगाइ पाउँ भन्दै सभामुखलाई जानकारी गराएका थिए ।
‘चार पटक भयो सभामुख महोदय यहाँबाट लडेको, अहिलेसम्म दुर्घटना भएको छैन, आगामी दिनमा यस्ता कुर्सी नराखियोस् । संसदमा धराप भयो, ज्यान जोगाइपाउँ भन्नुपर्ने अवस्था आयो,’ अधिकारीले भने ।
अधिकारीको मागपछि संसद्मा सभामुखसहित अन्य सांसदमा हाँसो फैलिएको थियो । सभामुख कृष्णबहादुर महराले यसबारे ध्यानाकर्षण भएको बताए ।