
काठमाण्डु, १९ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सत्तारुढ दल नेकपामै विलय हुने विश्वास व्यक्त गरेका छन् ।साथै प्रचण्डले विप्लवलाई पार्टी एकताका लागि अाह्वान गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य पदम राई सत्तारुढ नेकपामा स्वागत गर्दै अध्यक्ष प्रचण्डले विप्लव पनि पार्टी एकतामा आउने बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमकामा अध्यक्ष प्रचण्डले राईलाई नेकपा प्रवेश गराउँदै यस्तो बताए ।
अध्यक्ष प्रचण्डले नेकपा प्रवेश गरेका नेता राईलाई पार्टीमा उचित स्थान र उपयुक्त जिम्मेवारी दिने बताए । उनले विप्लव नेतृत्वमा रहेका अन्य नेता तथा कार्यकर्तालाई पूर्वाग्रह नराखीकन मुलधारमा फर्कन आग्रह समेत गरे ।
सबै कम्युनिस्ट एक हुनुको विकल्प नरहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘एकताको विकल्प छैन, एकदिन विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्छ ।’
‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने संभावना छ । नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उनले भने, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो । ’
अध्यक्षले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं ।’ भने जस्तो पूर्ण भन्न नसकिए पनि सामाजिक सुरक्षा र सामाजिक न्याय सहितको विकासको नयाँ मोडल तिर जाने र समाजवादको तयारी गर्न खोजेको अध्यक्षको भनाई थियो ।