
फलेवास (पर्वत), ३ वैशाख – साना व्यवसायीको संस्था जिल्ला लघुउद्यमी सङ्घ पर्वत र राष्ट्रिय लघुउद्यमी सङ्घकी अध्यक्ष केशाकुमारी परियारलाई शान्तिका लागि व्यवसायिक अन्तराष्ट्यि पुरस्कार २०१४ ले सम्मानित गरिने भएको छ ।
उनलाई यो पुरस्कार नर्वेको विजनेस फर पिस प्रतिष्ठानले आगामी जेठ १ गते ओस्लोस्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा विशेष समारोहबीच प्रदान गरिने बताइएको छ ।
विजनेस फर पिस अवार्डको निर्णायक मण्डलमा नोबेल पुरस्कार विजेताहरु छन् । आफूले जीवनमा कल्पना नै नगरेको पुरस्कार पाउँदा पर्वतको खानी गाउँ विकास समिति–५ की ५१ वर्षीया परियारसँग खुसीको सीमा नै छैन ।
विश्वकै प्रतिष्ठित शान्तिका लागि व्यवसाय (विजनेस फर पिस) पुरस्कार पाउने घोषणा भएपछि उनले जिन्दगीमै नसोचेको सफलता प्राप्त गरेको अनुभव गरेकी छिन् ।
झन्डै डेढदशक पहिलेसम्म गाउँमा सबैले ‘दमिनी साहिली’ भनेर बोलाउँथे, छ वटा छोरी जन्मेपछि परिवारबाट समेत तिरस्कार व्यहोर्नु प¥यो । ‘अहिले यो पुरस्कार पाउँदा मैले ‘दमिनी साहिली’को सम्मान भएको अनुभव गरेकी छु’ परियारले भनिन – “मेरो लागि यस्तो दिन न कहिले आएको थियो, अब फेरी आउनेछ” कपडा सिलाउने हाते मेसिन किन्दा ‘दमिनी साहिली’ले सिलाउन जान्दिन भनेपछि अहिले त्यही हाते मेसिनबाट २०५६ सालमा सुरु गरेको सिलाई कटाई व्यवसायले उहाँलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारको विजेता बनाएको हो ।
‘मैले एउटा मेसिनबाट सुरु गरेको व्यवसायबाट यो पुरस्कार प्राप्त गर्ने स्थानसम्म पु¥याउँछ भन्नेसम्म कल्पना गरेकी थिइन’ उनले थपिन – “पुरस्कार पाउने घोषणापछि अब गाउँमा पिछडिएको समुदायका लागि अझै धेरै गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छु ।”